९० मिनेटले दिएको जीवनको पाठ
रेफ्रीको अन्तिम सिटीसंगै मैदानभरि दुई फरक दृश्य देखिन्छन् । एकातिर विजयको उल्लास हुन्छ, अर्कोतिर अविस्मरणीय पराजयको पीडा । कसैले ट्रफीलाई आकाशतर्फ उचालेर जीवनकै सवैभन्दा ठूलो क्षणलाई अँगाल्छ, कसैले आँसुसँगै आफ्नो सपना बगाउँछ ।
विस्तारै रंगशालामा देखिने उत्साहित दर्शकहरु घर फर्कन थाल्छन, रंगशालाका बत्तीहरू क्रमशः निभ्दै जान्छन्, सामाजिक सञ्जालका बहसहरु पनि बिस्तारै मत्थरिन्छन् । तर एउटा प्रश्न भने मनमा अझै बलिरहन्छ, के विश्वकप केवल फुटबल प्रतियोगिता हो, कि जीवन बुझाउने एउटा विराट पाठशाला पनि ? फुटलबलको खेल अवधि ९० मिनेट तर ९० मिनेट भित्रको तयारी देखि खेल सम्पन्न सम्म पुग्न वर्षौंको तयारी, हजारौं घण्टाको अभ्यास, अनगिन्ती असफलता, चोट, त्याग र आत्मअनुशासन चाहिन्छ।
हामी प्रायः गोल देख्छौं, तर गोलसम्म पुग्ने यात्रा देख्दैनौं । हामी ट्रफी देख्छौँ, तर त्यसलाई उचाल्न गरिएको तपस्या देख्दैनौँ । हो जीवन पनि यस्तै हो । समाज सफलताको प्रशंसा गर्दछ, परिणाम छिटो देख्छ तर सफलताभित्र लुकेका संघर्षका कथा प्रायः ओझेलमा पर्छन् । त्यसैले विश्वकपको ९० मिनेटले दिने पहिलो पाठ यही हो, सफलता संयोग होइन, निरन्तर प्रयासको स्वभाविक परिणाम हो । विश्वकपले अर्को महत्त्वपूर्ण सत्य पनि उजागर गर्छ प्रतिष्ठाले मात्र विजय दिलाउँदैन ।
इतिहासमा नाम कमाएका धेरै टोलीहरू अपेक्षाभन्दा चाँडै प्रतियोगिताबाट बाहिरिएका छन् । अर्कोतर्फ, कम आँकिएका टोलीहरूले संसारलाई आश्चर्य चकित पारेका छन् । खेलले हरेक पटक एउटै कुरा दोहोर्याउँछ, हिजोको गौरव आजको जितको ग्यारेन्टी होइन । जीवनमा पनि यही नियम लागू हुन्छ । कुनै व्यक्ति, संस्था वा राष्ट्रले विगतका उपलब्धिमा मात्र रमाएर भविष्य जित्न सक्दैन । हरेक दिन आफूलाई पुनः प्रमाणित गर्नुपर्छ । फुटबलमा एउटा उत्कृष्ट खेलाडी हुनु ठूलो कुरा हो, तर त्यो पर्याप्त हुँदैन । महान् खेलाडीले पनि सही समयमा साथीलाई पास दिन जान्नुपर्छ । गोल गर्ने खेलाडी महत्त्वपूर्ण हुन्छ, तर गोलको अवसर सिर्जना गर्ने खेलाडी पनि उत्तिकै मूल्यवान् हुन्छ ।
यही कारणले फुटबल केवल व्यक्तिगत प्रतिभाको होइन, सामूहिक विश्वासको खेल हो। यसले हामीलाई सिकाउँछ, व्यक्तिगत चमकभन्दा सामूहिक उद्देश्य ठूलो हुन्छ । परिवार, विद्यालय, कार्यालय, समाज र राष्ट्र सबै ठाउँमा यही सिद्धान्त लागू हुन्छ । जहाँ म भन्दा हामी बलियो हुन्छ, त्यहाँ सफलता दिगो हुन्छ । हारलाई हामी प्रायः अन्तिम सत्य ठान्छौं । तर विश्वकपले हारको पनि गरिमा हुन्छ भन्ने सिकाउँछ । फाइनलमा पराजित हुने टोली पनि संसारकै दोस्रो उत्कृष्ट टोली हो । तिनका आँसु कमजोरीका होइनन्, समर्पणका प्रतीक हुन् । हारले मानिसलाई विनम्र बनाउँछ, सुधारको अवसर दिन्छ र पुनः उठ्ने शक्ति दिन्छ । इतिहासका धेरै महान् खेलाडीहरू पहिलो प्रयासमै च्याम्पियन बनेका थिएनन्। उनीहरू बारम्बार लडे, उठे, सिके र अन्ततः इतिहास बने । जीवनको सबैभन्दा ठूलो असफलता हार्नु होइनस हारपछि प्रयास गर्न छोड्नु हो ।
विश्वकपको अर्को सुन्दर पक्ष अनुशासन हो । खेलाडीहरूलाई थाहा हुन्छ, केही सेकेन्डको असावधानीले वर्षौंको सपना समाप्त हुन सक्छ । त्यसैले उनीहरू नियमभित्र रहेर आफ्नो उत्कृष्ट प्रदर्शन दिन्छन् । समयको सम्मान, निर्णयको स्वीकार्यता, प्रतिकूल अवस्थामा पनि संयम र आत्मनियन्त्रण( यी गुणहरू खेलका मात्र होइनन्, सभ्य समाजका पनि आधार हुन् । अनुशासनविना प्रतिभा अधुरो हुन्छस चरित्रविना सफलता अस्थायी हुन्छ । आजको विश्व फुटबलमा प्रविधिले पनि महत्त्वपूर्ण भूमिका खेलेको छ। भिडियो असिस्टेन्ट रेफ्री जस्ता प्रणालीहरूले खेललाई अझ निष्पक्ष बनाउने प्रयास गरेका छन् । यसले खेलभन्दा परको एउटा गहिरो सन्देश दिन्छ कि न्यायमा विश्वास त्यतिबेला बलियो हुन्छ, जब प्रक्रिया पारदर्शी हुन्छ । समाज, प्रशासन, शिक्षा र राजनीतिमा पनि यही सिद्धान्त लागू हुन्छ । निष्पक्षता कुनै पनि प्रणालीको सबैभन्दा ठूलो शक्ति हो ।
नेपालमा विश्वकपको उत्साह छुट्टै हुन्छ। हिमाल, पहाड र तराईका गाउँदेखि सहरसम्म, चिया पसलदेखि विश्वविद्यालयका छात्रावाससम्म, सामाजिक सञ्जालदेखि सार्वजनिक चोकसम्म विश्वकपले नेपालीलाई एउटै भावनामा बाँधिदिन्छ । कसैले अर्जेन्टिनालाई समर्थन गर्छ, कसैले ब्राजिल, स्पेन, फ्रान्स वा अन्य टोलीलाई । तर ती सबैभन्दा माथि एउटा साझा पहिचान हुन्छ, हामी सबै फुटबलप्रेमी हौं । खेलले भाषा, जात, धर्म, भूगोल र राजनीतिक विचारभन्दा माथि उठेर मानिसलाई जोड्ने अद्भुत शक्ति राख्छ । आजको विभाजित विश्वमा यो शक्ति अझ मूल्यवान् छ । तर समर्थक हुनु भनेको आफ्नो टोली जित्दा मात्र खुसी हुनु होइन । हार्दा पनि प्रतिद्वन्द्वीलाई सम्मान गर्न सक्नु नै खेल संस्कृतिको परिपक्वता हो । पछिल्ला वर्षहरूमा सामाजिक सञ्जालले समर्थनलाई कहिलेकाहीं कटुता र अपमानतर्फ पनि धकेलेको देखिन्छ । विश्वकपको वास्तविक मर्म प्रतिद्वन्द्वीलाई हराउनु हो, अपमान गर्नु होइन । प्रतिस्पर्धा खेलको सौन्दर्य होस घृणा खेलको संस्कृति होइन ।
नेपालका लागि विश्वकप प्रेरणाको स्रोत पनि हो । विश्व फुटबलका धेरै राष्ट्रहरू कुनै समय शक्तिशाली थिएनन् । उनीहरूले दीर्घकालीन योजना, युवा विकास, प्रशिक्षक उत्पादन, वैज्ञानिक प्रशिक्षण र बलियो खेल संरचनामार्फत आफूलाई विश्वस्तरमा पुर्याए । नेपालसँग पनि प्रतिभाको कमी छैन । गाउँका खुला मैदानमा नाङ्गो खुट्टाले खेल्ने बालबालिकाको सपना कुनै विदेशी खेलाडीको सपनाभन्दा सानो छैन । फरक यति मात्र हो, उनीहरूलाई अवसर, पूर्वाधार र निरन्तर मार्गदर्शन चाहिएको छ । यदि विद्यालयस्तरबाटै खेललाई नीतिगत प्राथमिकता दिइयो भने आज टेलिभिजनमा हेरेको विश्वकप कुनै दिन नेपाली खेलाडीका लागि पनि सम्भावनाको मञ्च बन्न सक्छ ।
हामी प्रायः खेललाई मनोरञ्जनका रूपमा मात्र हेर्छौं। तर खेल संस्कृति पनि हो, चरित्र निर्माणको माध्यम पनि हो र राष्ट्र निर्माणको साधन पनि हो । खेलले अनुशासन सिकाउँछ, हार स्वीकार्न सिकाउँछ, जितमा विनम्र रहन सिकाउँछ र फरक विचार भएका मानिससँग पनि हात मिलाउन सिकाउँछ । यस्तो शिक्षा कुनै पाठ्यपुस्तकले एक्लै दिन सक्दैन ।
विश्वकप सकिन्छ, तर त्यसले छोड्ने सन्देश सकिँदैन । रंगशालाको घाँसमा फेरि अर्को प्रतियोगिताको तयारी सुरु हुन्छ । नयाँ पुस्ताका खेलाडीहरूले नयाँ सपना देख्छन् । समर्थकहरूले फेरि अर्को चार वर्षको दिन गन्न थाल्छन् । तर हाम्रो जीवनमा भने हरेक बिहान नयाँ खेल सुरु हुन्छ । हाम्रो कार्यालय एउटा मैदान हो, विद्यालय प्रशिक्षण केन्द्र हो, परिवार टोली हो र जिम्मेवारीहरू गोलपोस्टतर्फ बढिरहेका बलहरू हुन् ।
प्रश्न एउटै हो, के हामी दर्शक बनेर अरूको सफलता मात्र हेर्नेछौं, कि आफ्नै जीवनको मैदानमा इमानदारी, अनुशासन र निरन्तर प्रयासका साथ खेल्नेछौं ? सायद विश्वकपको सबैभन्दा ठूलो पुरस्कार सुनौलो ट्रफी होइन। सबैभन्दा ठूलो पुरस्कार त्यो चेतना हो, जसले मानिसलाई हारबाट नडराउन, जितमा नमात्तिन, साथीमाथि विश्वास गर्न र आफ्नो सपनाप्रति अडिग रहन सिकाउँछ ।
अन्ततः ९० मिनेटको खेलले हामीलाई एउटा अमूल्य सत्य बुझाउँछ, जीवनमा समय सीमित हुन सक्छ, तर त्यसभित्र सिर्जना गर्न सकिने इतिहास असीमित हुन्छ ।
(लेखक: गलकोट नगरपालिका शिक्षा, युवा तथा खेलकूद शाखा प्रमुख हुनुहुन्छ ।)
समृद्ध गलकोटका लागि रेडियो गलकोट
समृद्ध शब्दको अर्थ उन्नति–प्रगति भएको, विकसित, सम्पन्न भन्ने हुन्छ । “गलकोट” भन्नाले संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल, गण्डकी प्रदेश अन्तर्गत
शैक्षिक ज्ञान महायज्ञः इतिहासले सुम्पिएको जिम्मेवारी
गण्डकी प्रदेश, बागलुङ जिल्लाको मध्य पश्चिम गलकोट क्षेत्र र यसको आसपासको शैक्षिक धरोहर गलकोट बहुमुखी क्याम्पस वि.सं. २०६१ मा स्थापना भएको सामुदायिक










प्रतिकृया दिनुहोस